
गजल
बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?
सुताउनु थियो भने दिएर बिश आखिर,
बिचमै निन्द्राबाट जगाउनुको अर्थ के?
निम्तो नपाईकन आएको होइन म पनि,
अहिले फेरी पर भागाउनुको अर्थ के?
देखिन्छ बाहिरबाट मन तिम्रो छर्लङ्गै,
मुहारमा मुकुन्डो लगाउनुको अर्थ के?
माया हो यो प्यास बढ्नुपर्ने अझै झन् ,
नरित्याइ प्याला अघाउनुको अर्थ के?
आखिर झरीले पखालिन लेख्या रहेछ,
मनभित्रको चित्र रङ्गाउनुको अर्थ के?
बिछोडमा एक थोपा आसुँ छैन उपहार,
रुमाल पनि मबाटै मगाउनुको अर्थ के?
कुरेको हो आजसम्म बार्ताको प्रस्तावलाई ,
चिट्ठीमा रित्तो कागज पठाउनुको अर्थ के?
बेलाबेला रगत यो बगाउनुको अर्थ के?
फेरी घाउमा मलम लगाउनुको अर्थ के?
No comments:
Post a Comment