Sunday, August 17, 2008

पुजेर कसले हिँड्छ र देउता मनभित्रको................


गजल
आऊँदैन बिहान कहिल्यै राती हुन्छ यहाँ।
घामले धोका दिँदा पनि जाती हुन्छ यहाँ।

कति दिनु अझै दोश निर्दोश जिन्दगीलाई,
आफ्नै मन पनि अन्त्तर-घाती हुन्छ यहाँ।

पुजेर कसले हिँड्छ र देउता मनभित्रको,
पत्थरमुर्ति वरिपरि फुल पाती हुन्छ यहाँ।

होला कुनै चिनो अवस्य साईनो पिरतीको,
यादहरु मात्रै आखिर ताँती हुन्छ यहाँ।

बाचाकसम खाएजति पुरा गर्नु किन पर्यो?
झुटाझुटा आस्वासन सबै थाँती हुन्छ यहाँ।

आऊँदैन बिहान कहिल्यै राती हुन्छ यहाँ।
घामले धोका दिँदा पनि जाती हुन्छ यहाँ।

Tuesday, August 12, 2008

जुनरानीलाई....................


गजल
हिजो राती हेरेँ, जुनरानीलाई।
अङ्गालोमा बेरेँ, जुनरानीलाई।

लगिरह्यो कतै निभिजाने डर,
बादलुले घेरेँ, जुनरानीलाई।

होइन कि त्यो उज्यालो उसैको,
कस्को भनी केरेँ, जुनरानीलाई।

पुरा भो खोज 'ज्योतिपुण्ज'को,
मायाधोको फेरेँ, जुनरानीलाई

हिजो राती हेरेँ, जुनरानीलाई।
अङ्गालोमा बेरेँ, जुनरानीलाई।




Monday, August 11, 2008

देशको कथा..............................

गजल
सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

पराइकै भरमा खाने ठुलै दाउ छ हजुरको,
ल्याउनु भो कति पोल्टामा दाना भरिभरि।

सोचेर हुन्छ कहाँँ फुर्सद अझै उनीहरुलाई,
बुन्न सडयन्त्रको नयाँ ताना-बाना भरिभरि।

झिल्काझिल्का मिली बन्छ राँको आखिरीमा,
आकाशमा हेर जुन- तारा साना भरिभरी।

कसले सुन्ने आवाज सोझो 'ज्योतिपुण्ज'को
बेइमानीकै हुन्छ रे भाउ जमाना भरिभरी।

सिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

Sunday, August 10, 2008

मनमा हुन्न तस्बिर .............................

मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ.........
गजल
मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ।
यादरुमात्रै आखिर सित्तैमा मिल्छ यहाँ।

जति हुन्छ गहिरो निको हुन त्यती गाह्रो,
घाऊ त्यही कमलो चित्तैमा मिल्छ यहाँ।

हुन्छ नौलोनौलो आसा नयाँ आऊनेहरुबाट,
जो पनि बेइमानीको कित्तैमा मिल्छ यहाँ।

झर्छ होला सायद आसुँ मनको आँखाबाट,
खोली हेर्दा परेली त रित्तैमा मिल्छ यहाँँ।

कसले गर्ने हो अब खोजी जुनरानीको ?
'ज्योतिपुण्ज'लाई औँसी चिट्ठैमा मिल्छ यहाँ।

मनमा हुन्न तस्बिर भित्तैमा मिल्छ यहाँ।
यादरुमात्रै आखिर सित्तैमा मिल्छ यहाँ।

Saturday, August 9, 2008

नाच कठपुतली धागो अरु कसैको........................



गजल
बोली पटक- पटक फेर्ने धेरै भए।
सिमानामा हाम्रो घर घेर्ने धेरै भए।

नाच कठपुतली धागो अरु कसैको,
आफ्ना छोडी बैरीलाई टेर्ने धेरै भए।

कथा भित्रभित्रै आफ्नै गाउँ-सहरको,
लेख्नेबुझ्ने छैनन् कोही केर्ने धेरै भए।

मुखमा छ राम-राम बगलीमा छुरा,
एक्कासी पो अङ्गालोमा बेर्ने धेरै भए।

सुरु हुनुपर्ने तयारी अन्तिम युद्धको,
गर्ने भन्दा पनि आज हेर्ने धेरै भए।

बोली पटक- पटक फेर्ने धेरै भए।
सिमानामा हाम्रो घर घेर्ने धेरै भए।

Sunday, August 3, 2008

गुराँसलाइ आफ्नै पाखोभिर...............


गजल
हिरामोती होइन चोखो मन काफी हुन्छ।
न्यानो अङ्गालोभित्र आफ्नोपन काफी हुन्छ।

कहिले हाँसो लहर हजुर,कहिले आँसु बर्सा,
जिउन सङ्ग-सङ्गै यति धन काफी हुन्छ।

जुराउनु कुन साइत अब साइनो गाँस्नलाई?
मिल्छ जब साथ त्यही लगन काफी हुन्छ।

उडिजाला बालुवाघर माया, सानै हावाहुरिले,
डढेलोलाई एकै झिल्को जलन काफी हुन्छ।

गाह्रो हुन्छ सँधै मनभित्र फुलाई राख्नलाई,
गुराँसलाइ आफ्नै पाखोभिर बन काफी हुन्छ।

सहनु कसरी कति मौनता त्यो मायालुको?
गाली नै सही तर तितो बचन काफी हुन्छ।

मिलन छ भने बिछोड पनि होला सङ्गै,
बुझ्नलाई जिन्दगी यति चलन काफी हुन्छ।