Sunday, August 3, 2008

गुराँसलाइ आफ्नै पाखोभिर...............


गजल
हिरामोती होइन चोखो मन काफी हुन्छ।
न्यानो अङ्गालोभित्र आफ्नोपन काफी हुन्छ।

कहिले हाँसो लहर हजुर,कहिले आँसु बर्सा,
जिउन सङ्ग-सङ्गै यति धन काफी हुन्छ।

जुराउनु कुन साइत अब साइनो गाँस्नलाई?
मिल्छ जब साथ त्यही लगन काफी हुन्छ।

उडिजाला बालुवाघर माया, सानै हावाहुरिले,
डढेलोलाई एकै झिल्को जलन काफी हुन्छ।

गाह्रो हुन्छ सँधै मनभित्र फुलाई राख्नलाई,
गुराँसलाइ आफ्नै पाखोभिर बन काफी हुन्छ।

सहनु कसरी कति मौनता त्यो मायालुको?
गाली नै सही तर तितो बचन काफी हुन्छ।

मिलन छ भने बिछोड पनि होला सङ्गै,
बुझ्नलाई जिन्दगी यति चलन काफी हुन्छ।

No comments: