Wednesday, May 19, 2010

गजल - हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर। तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर।

गजल

अरुजस्तै हुन खोजेँ , आज मलाई माफ गर।
तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर।

सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा,
बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर।

न त खस्यो मेरो आँसु ,न त मुस्कु'राउनै सके,
सङ्गै हास्न रुन खोजेँ ,आज मलाई माफ गर।

बालुवाको राशी देखेँ , केलाएर हेरेँ हजुर ,
हिरामै लौ सुन खोजेँ,आज मलाई माफ गर।

भेट्ने हो कि आँफैलाई,तिमीलाई खोजेपछी,
किन खोजेँ कुन खोजेँ ,आज मलाई माफ गर।

धेरैचाहीँ एक्लै लेखेँ , कमै लेखे मिली सङ्गै,
गजलमै धुन खोजेँ ,आज मलाई माफ गर।

डर भन्या त्यही हुन्छ,शङ्खा आफुभित्रै हुन्छ,
चामलमा घुन खोजे,आज मलाई माफ गर।

नगिचैको तिर्थ हेला,ज्योतिपुञ्ज लाटो हजुर ,
तलाउमा जुन खोजेँ ,आज मलाई माफ गर।

अरुजस्तै हुन खोजेँ , आज मलाई माफ गर।
तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर।



सुरेश ज्योतिपुञ्ज
नुवाकोट, नेपाल

हाल,
जिपमेर मेडिकल कलेज
पन्डिचेरि,भारत

No comments: